खबरसबैको संवाददाता
हुम्ला ८, मङ्सिर
शुक्रबार खाद्यान्न पाउने खबर पाएपछि सिमकोट गाउँपालिकाको वडा नम्बर ५ र ६ मा अघिल्लो दिनबाट चहलपहल बढ्यो । अधिकाँश महिलाले बिहान सबेरै उठेर खाना पकाए । बालबच्चालाई खुवाए अनि लागे खाद्य संस्थानको गोदामतिर । सामान्यतया महिनाको एक पटक पाउनुपर्ने खाद्यान्न पाँच महिनापछि वितरण हुँदै थियो । त्यसैले बिहान सबेरै खाद्यान्न लिन स्थानीय लाममा थिए । लाममा लाग्नेको सङ्ख्या ठूलै थियो ।
घर कुपनका आधारमा प्रति सदस्य पाँच किलो खाद्यान्न वितरण हुने भएपछि शुक्रबार बिहान ७।०० बजे लाम लागेको सिमकोट गाँउपालिका वडा नम्बर–५ की शिवा रावतले बताउनुुभयो ।
तीन जना सदस्यको प्रति सदस्य पाँच केजीका दरले पाउने १५ केजी चामल लिन भण्डै चार घण्टा लाममा बस्नु परेको उहाँको गुनासो थियो ।पाँच महिनाको ७५ केजी पाउनुुपर्ने हो, तर चार महिना खाद्यान्न वितरण नभएपछि १५ केजीमै चित्त बुझाउनु परेको उहाँले सुनाउनुुभयो । बजारमा निजी क्षेत्रका ब्यापारीले मुगुबाट खच्चडमा ढुवानी गरेर ल्याएको प्रतिकेजी १८० रुपियाँ मूल्य पर्ने चामल किन्न नसकिने भएपछि बल्ल घरमा चामल पसेको उहाँले बताउनुुभयो । दशैँको बेला संस्थानले प्रतिपरिवार दुई केजीका दरल चामल चामल अक्षता मात्रै भयो । अहिले भने बल्ल घरमा चामल छिरेको अनुभव भएको उहाँले बताउनुुभयो । पैसा भएर पनि चामल किन्न सकस भएको रावतले गुनासो गर्नुभयो ।
यता सिमकोट गाउँपालिका वडा नम्बर ६ की बासकली रोकायाले पाँच घण्टाको बसाइपछि घर कुपनको पाँच केजी खाद्यान्न पाएको बताउनुुभयो ।
‘कस्तो बिडम्बना पाँच केजी खाद्यान्न लिन पनि यत्रो समय कुर्नुपर्ने, अनि हाम्रो प्रगति कसरी हुन्छ,’ रोकायाले सुनाउनुुुभयो ।
यस अघि बजारको महँंगो मूल्यको चामल खरिद गरेर खाँदै आउनु भएकी रोकायालाई अहिले भने केही राहत भएको भएको छ । खाद्य संस्थानको मन्सुली चामलको मूल्यप्रति केजी ७० रुपियाँ रहेको छ । बजारमा सोही चामलको मूल्य प्रतिकेजी ११० रुपियाँ छ ।खाद्यान्न संस्थानकोे चामलबाट केही राहत पुग्ने उहाँले बताउनुुभयो ।
धेरै पछि मात्रै खाद्य संस्थानबाट खाद्यान्न पाएको गुनासो गर्ने रावत र रोकाया प्रतिनिधि महिला हुनुहुन्छ । शुक्रबार सिमकोट गाउँपालिकाको वडा नम्बर ५ र ६ लाई खाद्यान्न बिक्री वितरण गरिएको खाद्य संस्थान सिमकोट शाखाको प्रमुख रामबहादुर बिष्टले बताउनुुभयो ।
यस अघि चालु आर्थिक वर्षको निर्धारित कोटाको खाद्यान्न ढुवानीको ब्यबस्थाका लागि पटकपटक बोलपत्र हुँदा पनि निजी विमान सेवाको सिन्डिकेटका कारण जिल्लामा खाद्यान्न ढुवानी नहुँदा खाद्यान्न बिक्री वितरण गर्न नसकिएको उहाँले बताउनुुभयो ।
अहिले ढुवानी भएको खाद्यान्न पनि दशैँ अगाडि आउनुपर्ने हो, तर निजी क्षेत्रका विमान सेवाले त्यतिखेर नबोक्दा अहिले ढुवानी भएकोले बल्ल बिक्री वितरण गर्नु परेको उहाँले बताउनुुभयो । यो त केही समय अगाडि निजी क्षेत्रका विमान सेवाहरूसँग भएको एक हजार क्वीन्टल खाद्यान्न ढुवानी सम्झौताको कोटाको मात्र हो ।